Wednesday, October 19, 2016

मुनिबहादुर शाक्य : कम्प्युटर आविष्कारका ज्युँदो इतिहास

उमेरले ७४ वर्ष कटे पनि नेपालका कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यको प्रविधिप्रतिको चाहना र जाँगर किशोर नै छ । कम्प्युटर भनेको कुन चराको नाम हो भन्ने समयमा शाक्यले सन् १९७९ सालमा कम्प्युटर बनाए । आजभन्दा ३७ वर्षपहिले, त्यो पनि नेपाली छोराले कम्प्युटर बनाएको भन्ने विषयलाई नेपाली समाजले त के कुनै विदेशीले विश्वास गर्न सकेनन् । आफ्नो सृजना र प्रविधिमा विश्वास दिलाउन शाक्यलाई हम्मे–हम्मे पर्थ्याे । तर, जब शाक्यले बनाएका कम्प्युटर देख्थे उनीहरू आश्चर्य प्रकट गर्दथे । आफ्नो आविष्कारबारे प्रतिक्रिया आउँदा शाक्य दंग पर्थे ।

सन् १९७० को दशकसम्म विश्वमै सूचना प्रविधि अर्थात् कम्प्युटरको विकास नभएको अवस्थामा शाक्यले सबैलाई आश्चर्य पार्दै माइक्रोचिप्स प्रयोग गरी कम्प्युटर निर्माण गरे । आइबिएम, एप्पल, माइक्रोसफ्टलगायतका कम्पनीहरू त्यतिबेला आफ्नो पहिलो माइक्रोकम्प्युटर बनाउन कसरत गरिरहेका बेला नेपाली प्रतिभाले यही प्रविधिमार्फत कम्प्युटर बनाए ।

मुनिबहादुर शाक्यले अझै हिम्मत हारेका छैनन् आफूमा भएका सीप र सिर्जनालाई आफू रहेसम्म गरेरै देखाउन । धर्म कर्म र आरामपूर्वक बस्नुपर्ने बेलामा पनि मुनिबहादुर शाक्यले अहिले ग्रीन प्रविधिको कम्पयुटर बनाएर सफल प्रयोग गरिरहेका छन् । जम्मा ३५ वाट क्षमतामा चल्लने यो कम्प्युटरमा ४ जीबी र्याम र १ टेराबाइटसम्म क्षमताको हार्डडिस्क रहेको ग्रीन प्रविधिको कम्प्युटर अहिलको उर्जा संकटको उत्तम विकल्प बन्न सक्छ ।

चीन, जापान र अन्य थुप्रै देशका सञ्चारमाध्यमले यो खबर प्रमुखताका साथ प्रकाशन–प्रसारण गरे । तर, शाक्यको यो प्रतिभालाई आफ्नै मुलुकले चिन्न सकेन । शाक्यको प्रतिभालाई देखेर अमेरिकाको एक कम्पनीले उतै बस्न आग्रह गरेको थियो । तर, त्यो आग्रहलाई लत्याउँदै शाक्य स्वदेशमै फर्के नेपालको नाम उ“चो राख्न । सोचेअनुरूप कहा“ हुदोरहेछ र ?

फ्रान्समा पढेर फर्केपछि शाक्य काठमाडौंमा हाइटेक पायोनियर नामको कम्पनी खोली कम्प्युटर र यसका पार्ट्सहरूको इन्नोभेसनमा लागिरहे । करिब डेढ दर्जन हार्डवेयर र सफ्टवेयर उत्पादन गरेका शाक्यको प्रविधितर्फको अद्भूत क्षमतालाई नेपाल सरकारले साथ मात्रै दिएको भए नेपालले कम्प्युटर निर्माणको क्षेत्रमा ख्याति कमाउने थियो भन्दा अतिशयोक्ति नहोला । उनका उत्पादनले यही भन्छ अनि यसैमा विश्वस्त पार्दछ । शाक्यले नयाँ आविस्कारमा पु¥याएको योगदान तात्कालिक समयमा कदर गरिएको भए अवस्था भिन्न हुन्थ्यो । कम्प्युटरमा ख्याति कमाउने ठूलो अवसर गुमेकोमा आज पनि चिन्तित छन् शाक्य ।

उनको यो साहसी काम र सिर्जनाको बारेमा चीनियाँ र जापनीज सञ्चार माध्यमहरुले बिशेष चासो दिएर विश्वभर समाचार एकैसाथ प्रसार गरेका थिए । शाक्यको यो इनोभेटिभ प्रविधि क्षमतालार्ई नेपालका सञ्चार माध्यमहरुले पनि प्राथमिकताका साथ महत्व दिएका थिए । तर पनि अहिले उहाँको प्रविधि क्षमता, इनोभेटिभ आइडिया, अपार ज्ञान र अनुभव अहिलेसम्म पनि ओझेलमा नै परिरहेको छ कारण उहाँले सञ्चालनमा ल्याउनुभएको १ करोड मूल्य बराबरको कम्प्युटर बनाउने मेशीन एउटा कोठामा अलपत्र अवस्थामा रहेको छ ।

एउटै कम्प्युटरमा भएको कामलाई २ सयभन्दा बढी कम्प्युटरबाट हेर्न सक्ने प्रणालीको विकास गरे शाक्यले । सन् १९८३ मा नेपाली माध्यमबाट देवनागरी लिपिको कम्प्युटर पनि उनैले बनाएका हुन् । शाक्यले बनाएका थुप्रै रोचक प्रविधिहरूमा आर्टिफिसियल इन्टेलिजेन्ससहितको रोबोर्ट, सेक्युरिटी यन्त्र उपकरण र अन्य थुप्रै कम्प्युटरका ग्याजेटहरू छन् । आवाजबाटै पानी खोल्न, बत्ती बाल्न र निभाउन, रेडियो बजाउन र बन्द गर्न, छुनै नपर्ने उपकरणहरूसमेत उनले बनाए । ए ब्रेन अफ कम्प्युटर, सुपर कम्प्युटर, नेपाली बोल्ने रोबोर्ट, ग्रिन कम्प्युटर शाक्यले निर्माण गरेका उत्कृष्ट नमूना हुन् ।

नेपालका कम्प्युटर वैज्ञानिक शाक्यले भ्वाइस रिकग्नाइनेशन सिष्टम, भ्वाइस डिक्सनरी, कम्प्युटर सहायता शिक्षा, नेपाली टु इङलिस, इङलिस टु नेपाली डिक्सनरी, विकिरण मनिटर, नेपाली सबटाइटल डिस्प्ले, नेपाली मल्टिमिडियालगायत प्रोग्राम निर्माण गरेका छन् । उनले बनाएको कम्युटर सन् १९८६ मा ८५ हजार रुपैया“का दरमा कृषि विकास बंैक र अर्थ मन्त्रालयले किनेका थिए । आफूले बनाएका कम्प्युटर कम्तीमा सरकारी कार्यालयमा प्रयोग होस् भन्ने शाक्यको चाहना भने पूरा हुन सकेन ।

शाक्यले अध्ययनका क्रममा भारत, फ्रान्स, सिंगापुर, हङकङ, जापानलगायत देशमा २१ बर्ष बिताए । उनले सन् १९६५ मा भारतबाट रेडियो इलेक्ट्रोनिक्सको कोर्स गरेका छन् भने सन् १९७२ मा ब्रिटिश काउन्सिलको छात्रवृत्तिमा कम्प्युटर इन्जिनियरिङ गरेका छन् । अध्ययन र कामको सिलसिलामा फ्रान्समा रह“दा उनले माइक्रोप्रोसेसरबाट कन्ट्रोलर र भिडियो कार्ड बनाएका थिए भने युकेमा निर्मित माइक्रोप्रोसेसरबाट नेपालमै पहिलो कम्प्युटर बनाएका थिए । शाक्यको आविस्कार उनको क्षमता र कार्यकौशलको विकास र प्रवद्र्धनमा सरकारले आवश्यक ध्यान दिन नसके पनि २ दर्जभन्दा बढी अन्तरराष्ट्रिय र राष्ट्रिय सम्मानबाट उनी सम्मानित भएका छन् । उनका आविस्कार नेपाली र विदेशी बजार पुग्न नसके पनि क्षमता र नवीनताको प्रशंसाले नेपाली र अंग्रेजी म्यागेजिन पोतिएका छन् ।

युरोप अमेरिका बेलायतबाट शाक्यलाई थुप्रै अवसरहरु आए तर देश र जनताका लागि आइटी विकासमा समर्पित हुने एउटै उद्देश्य उनकाे भएकोले ती सबै अवसरहरुलाई शाक्यले महत्वपूर्ण ठान्नुभएन र निरन्तर आफ्नो प्रयासमा नयाँ प्रविधिको खोज अनुसन्धानतर्फ लागे । तर उनको यी सबै प्रयासलाई राज्य वा सरकारले कुनै चासो दिएको पाइँदैन ।

घट्टेकुलोस्थित ३ तले भवनमा बस्दै आएका शाक्यको दिनचर्या नजिकैको कम्प्युटर फ्याक्ट्री तथा म्युजियम पायोनियर प्रालिमा नै बित्ने गरेको छ । फुर्सदको समयमा अझै पनि उनी नया“नया“ प्रविधिका पत्रिका पढिरहन्छन् । नयाँनयाँ आविस्कारमा लागिरहन्छन् । फ्याक्ट्री पुग्नु, आफ्ना आविस्कारको सुरक्षा र संरक्षण गर्नु तथा नयाँ आविस्कारमा घोत्लिनु शाक्यको दिनचर्या हो । रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्समा औधी रुचि राख्ने उनी कुशल तबलावादक पनि हुन् भने १० ओटा भाषा बोल्न सक्छन् । वैज्ञानिक शाक्यले २० वाटभन्दा कम विद्युत् खपत गर्ने ग्रीन कम्प्युटरको विकास गरी कालिकोटलगायतका जिल्लामा टेलिमेडिशिनसमेत सञ्चालन गरिरहेका छन् । उनी इन्टरनेट सेवाप्रदायक संस्थाका प्रथम अध्यक्षसमेत हुन् । सरकारले सहयोग गरेको खण्डमा कम्प्युटरको क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने दृढविश्वास छ शाक्यको ।

५ वाट विद्युत्बाटै चल्ने ग्रीन कम्प्युटर बनाएर घरघरमा पुर्याउने शाक्यको प्रबल इच्छा छिट्टै साकार बनोस् । नेपालको एक मात्र कम्प्युटर म्युजियमका रूपमा रहेको उनको निजी सङ्ग्रहालयलाई सरकारले बृहत् रूपमा सञ्चालनमा ल्याउन सहयोग गरोस् । बनेपाको आइटी पार्कमा आफैले खरिद गरेका र बनाएका कम्प्युटरका कारखाना राखेर उत्पादन गर्ने उनको चाहना साकार बनोस् ।

लिभिङ विथ आइसिटी आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सूचना प्रविधिको विकास र विस्तारका जिउ“दो इतिहास, नेपालका पहिलो कम्प्युटर एवम् सूचना प्रविधिका अभियन्ता मुनिबहादुर शाक्यप्रति ‘आइसिटी विशेष सम्मान २०१६’ अर्पण गर्दछ ।

No comments:

Post a Comment