Thursday, October 6, 2016

एक अमेरिकी, जसको हृदयमा ‘नेपाल’ छ

संसारमा थुप्रै मानिसहरु जन्मन्छन् । व्यक्ति जन्मने विषयलाई गौण मन्ने हो भने धेरैको जीवन असफल हुन्छ । थोरैको मात्र सफल र अपेक्षाकृत । जीवनमा संघर्ष गरेर पाएको सफलताको मूल्यलाई अन्य कुनै कृतिम वस्तुले जित्न सक्दैन होला सायद् । ‘इमान्दारिता’ र ‘लगनशिलता’ ती दुई शब्द हुन् जसले व्यक्तिलाई सफल बनाउँछ । सफलताले सहयोगको भावना विकास गराउँछ । गाउँ, समाज र राष्ट्रमा सफल व्यक्तिहरुको योगदान थुप्रै हुन्छ । तर एक व्यक्ति छन् जो आफ्नो देशभन्दा धेरै टाढाको देशमा सहयोगका हातहरु बढाउँन चाहन्छन् । आफ्नो मातृभुमिभन्दा बढी माया त्यो भूमिलाई गर्छन् जहाँ प्रकृतिको जन्म भएको हो । ति व्यक्ति हुन् अमेरिकी नागरिक माइकल कोबोल्ड ।

Kobold 3
कोबोल्डका हरेक अनुभूति भावनात्मक छन् । हरेक पाइला पाइलामा संघर्ष, प्रयास र निरन्तरता देखिन्छ । विश्वको चर्चित ‘कोबोल्ड’ घडी कम्पनीका मालिक माइकल कोबोल्ड नेपालको प्राकृतिक सुन्दरता र यहाँका मानिससँगको भावनात्मक सम्बन्धकै कारण प्रत्येक वर्ष नेपाल आउँछन् । सन् २००८ मा कोबोल्ड पहिलो पटक नेपाल आएका थिए । नेपालको भूमिमा हवाइजहाज प्रवेश गर्दैगर्दा देखिएको दृष्यले उनको मन दंग भएको थियो । सगरमाथा चढ्ने तयारी गरिरहेका एक मित्रलाई बधाई दिनका लागि मात्र उनी पहिलोपटक नेपाल आएका थिए । राजधानी सहर काठमाण्डौमा अवतरण गर्दैदेखि यहाँको प्राकृतिक सुन्दरताले उनलाई मोहित गराएको थियो ।
काठमाण्डौ अवतरण पछि सगरमाथाको ‘बेस क्याम्प’सम्म पुगेर साथीलाई भेट्नु थियो । पहिलो पटकको यात्रामा उनले धेरै लामो समय विताउन पाएका थिएनन् । ‘बेस क्याम्प’ पुगेर तुरुन्त स्वदेश फर्कनुपर्ने बाध्यता थियो । प्रेमिप्रमिकाबीच पहिलो भेटमा मायाप्रिति बसेजस्तै पहिलो आगमनमै नेपालप्रति उनी आकर्षित त भए तर समयको अभाव थियो । धेरै ठाउँहरु घुम्ने रहरलाई लत्याउँदै उनी अमेरिका फकिएका थिए । एक वर्ष कुर्नु परेन उनी दोस्रोपटक नेपाल आउन । सन् २००९ मा दोस्रोपटक नेपाल आए र राजधानीका सबै ठाउँ घुमे । संसारको शिखर सगरमाथा पनि चढे । ‘सगरमाथाको चुचुरोमा छँदा मलाई खुसी होइन एक प्रकारको अचम्म लागि रहेको थियो’ उनी भन्छन्, ‘त्यति अग्लो शिखर चढ्छु भन्ने सोच नै थिएन ।’

Kobold
दोस्रो पटकको उनको सगरमाथा आरोहण केही फिल्मी शैलिको थियो । कारण उनले श्रीमतीलाई सगरमाथा आरोहण गराउन ल्याएका थिए । अघिल्लोपटक भन्दा केही जटिल थियो यात्रा । कोबोल्ड दम्पत्तीले आरोहण सफलतापूर्वक गरे पनि फर्कने क्रममा श्रीमती अन्तिम अवस्थामा पुगिन् । अक्सिजनको कमिका कारण । उनमा आशा हटिसकेको थियो । ‘श्रीमतीको निलो शरीर अन्तिम पटक हेर्दैछु जस्तो अनुभूति भएको थियो ।’ उनी भन्छन्, ‘शेर्पा दाईहरुले बचाए ।’ यसरी शेर्पाहरुले गरेको सहयोगप्रति कृतज्ञता जनाउँदै दुई शेर्पालाई अमेरिका लगे उनले । नाम्गेल शेर्पा र थुन्डु शेर्पा । अमेरिकामा रहेको आफ्नै घडी बनाउने कम्पनीमा उनीहरुलाई तालिम दिलाए । निरन्तर दुईवर्षसम्म प्रशिक्षण दिएर दक्ष बनाए । यसरी शेर्पाहरुलाई तालिम दिनुको मुख्य कारण नेपालमा घडी कम्पनीको शाखा खोल्नु थियो । व्यवसायलाई विस्तार गर्नु थियो । तर त्यो भन्दा मुख्य विषय श्रीमतीको जीवन फिर्ता ल्याउने ती शेर्पा दाजुहरुलाई जोखीमपूर्ण कामबाट हटाई सीप सिकाएर अन्यत्र सार्नु थियो । दक्ष बनाउनु थियो ।

Kobold Climbing Mt Everest.
मार्च २६, २०१२ मा उनले हिमालय एभरेस्ट संस्करण घडीको उद्घाटन गरे । जसको निर्माण सगरमाथाका पत्थरहरुबाट हुने गर्छ । अमेरिकामा रहेको उनको मुख्य घडी कम्पनीको शाखा उद्घाटन गर्ने क्रममा सबै ठुला कम्पनीका मालिकहरुदेखि नेताहरुसम्मको सहभागिता भयो । सबैले सम्बोधन गरे । यहि प्रसंगलाई जोड्दै उनी भन्छन, ‘यहाँको सबै युवा पुस्ता जो विदेश पलायन हुन्छन, उनीहरु सबैलाई यहीँ नै मौका छ ।’ उनका अनुशार नेपालमा सबै काम सम्भव छ । ‘नेपाल धेरै सुन्दर देश हो र त्यो भन्दा पनि याहाँका मानिसहरुको भावना सुन्दर ।’ नेपालको प्राकृतिक सुन्दरताले मोहित भएका उनी थप व्याख्या गर्छन्, ‘यहाँ सबै कुरा सम्भव छ । तर परिस्थिति भने जटिल देख्छु ।’

Kobold With two watch.
कोबोल्ड फरक विषयमा रुची राख्छन् । उनी आफ्ना दुवै हातमा घडी लगाउँछन् । अर्थशास्त्रका विद्यार्थी कोबोल्डलाई हिसाबमा भने खासै रुचि थिएन । कलाकारितामा रुची राख्ने उनी संसारलाई उदाहरणीय काम गरेर देखाउन चाहन्थे । तर सोचेजस्तो सहज कहाँ थियो र । स्वयम्को जीवन जटिल थियो । कठिनाईहरु थिए । माइकल कोबोल्डको जीवन कथा उनको विद्यालय शिक्षाबाट सुरु हुन्छ । विद्यालय अध्ययनकै क्रममा बजार घुम्न जाँदा उनलाई सजाएर बेच्न राखिएको घडी मन पर्यो । परिवारका सदस्यहरुलाई घडी किनिदिन आग्रह गर्दा धेरै महंगो भएको र किन्न नसक्ने जवाफ पाए । उनको मन खिन्न भयो । तर नयाँ अठोट उनमा आयो । मूल्यकै कारण किन्न नसकेको घडी आफैंले बनाउने हो भने सस्तो पर्ने उनले सोचे । त्यसैमा समय खर्चन थाले ।

उच्च शिक्षा अध्ययन गर्दा कक्षामा दिइने प्रयोगात्मक विषयहरुमा उनी घडी रोज्थे । त्यसबारे अध्ययन गर्थे । खोज गर्थे । त्यसै शिलशिलामा उनी एक घडी उत्पादन गर्ने कम्पनीमा इन्ट्रनसीप गर्न पुग्छन् । त्यहाँ केहि समय काम गर्छन् । सानैदेखि नै घडीले कसरी काम गर्छ भन्ने बारेमा धेरै नै रुची राख्थे उनी । घडीमा प्रयोगहुने प्रविधिबारे जानकारी पाएसँगै उनलाई त्यसबारे थप रुची बढ्न थाल्यो ।

प्रधानमन्त्री पुष्पकमला दाहाल प्रचण्डलाई आफ्नो उत्पादनको विषयमा जानकारी गराउँदै कोबोल्ड ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो उत्पादनको विषयमा जानकारी गराउँदै कोबोल्ड ।
कोबोल्डलाई आफ्नै घडी कम्पनी बनाउने ठूलो रहर थियो । सपनालाई विपनामा सार्थक बनाउन कहाँ सहज हुन्थ्यो र । उनलाई पनि कम्पनी सुरु गर्न भने जति सहज पटक्कै थिएन । आफ्ना बुवासँग कम्पनीबारे कुरा राख्दा सकारात्मक जवाफ पाएका थिएनन् कोबोल्डले । तर उनको संघर्ष जारी नै थियो । विद्यालय पढ्दैदेखि उनले साधारण मिठाइ बेचेर पैसा जम्मा गरेका थिए । गाडी सञ्चालनमा दक्ष कोबोल्डले ड्राइभर कन्स्ट्रक्टर भएर चार वर्षसम्म काम गरे । जसमा उनी अरुलाई सुरक्षा सम्बन्धी तालिम दिन्थे । उच्च शिक्षा अध्ययनकै क्रममा उनले पाँच वर्षसम्म अमेरिकामा रहेको इण्डियनको रेस्टुरेन्टमा काम गरे । परिवारबाट खाजा खान दिएको पैसा बचत गर्थे उनी । काम गरेको पैसा पुरै जोगाउँथे । परिवारलाई जानकारी नदिई विभिन्न कामहरु गर्ने र रकम जम्मा गर्ने उनी गर्दथे । १२ वर्षको उमेरमा सुरुभएको घडी बनाउने सपना १९ वर्षमा पुरा भएको थियो । आफ्नै कम्पनी खोलेका थिए उनले ।

Watch
पटक पटकको असफलता, निरन्तरको अभ्यासले सफल बनेका उनी आज नेपालमा सहयोगका हात बढाउँदैछन् । सन् २००८ देखि निरन्तर नेपाल आइरहेका उनले नेपालीलाई सहयोग गर्ने उद्देश्यसहित २०१५ अप्रिल मा उनले कयगचधबथ ायगलमबतष्यल नामक संस्था स्थापना गरे । जसको मुख्य उद्देश्य भनेको जोखिममा परेका नेपालीहरुलाई सहयोग गर्नु थियो । सहयोगका हातहरु बढाउनु थियो । संस्था स्थापना भएको केहि हप्तामा नवित्दै २०७२ बैशाखमा महाभूकम्प गयो । ठूलो संख्यामा जनधनको क्षति भयो । उनले तत्कालै आफ्ना साथीहरुलाई सहयोग मागे । प्राप्त भएको सहयोग तथा रकम उनले आफ्ना संस्था मार्फत धेरै ठाउँहरुमा राहतको काम गरे ।

Firetruck
यतिबेला उनी नेपालका विभिन्न सहरहरुमा वारुणयन्त्र वितरण गर्ने योजनामा छन् । केही महिना भित्रै उनी नेपालमा विभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा वारुणयन्त्र सेवाको आवश्यकता अत्याधिक भएको महशुस गर्दै उनले १२ ओटा दमकल विभिन्न सहरहरुमा हस्तान्तरण गर्न लागेका हुन् । उनलाई वारुणयन्त्र हस्तान्तरण गरेर चर्चा कमाउने भन्दा ठूलो सपना नेपालको प्रचारप्रसार गर्ने छ । प्राकृतिक रुपमा सुन्दर देशलाई विश्वमा चिनाउने उनको चाहना छ । जसका लागि वारुणयन्त्र वितरण कार्यक्रममा संसारका विभिन्न चर्चित व्यक्तिहरुलाई उनी नेपाल ल्याउँदैछन् । नेपालबारे जानकारी गराउँदैछन् । विभिन्न ठाउँमा आयोजना गरिने कार्यक्रम र यहाँको सुन्दरतालाई भिडियोमा क्याप्चर गर्दै अन्तर्राष्ट्रिय च्यानलहरुमा देखाउने उनको रहर छ ।

कोबोल्ड त्यस्ता व्यक्ति हुन् जो नेपाललाई छातीमा राखेर हिँड्छन् । यो देशलाई माया गर्छन् । नेपालीलाई माया गर्छन् । यहाँको प्राकृतिक सुन्दरतामा आनन्दित हुन्छन् । स्वर्ग पुगेको अनुभूति गर्छन् । सकारात्मक सोच राखेर संघर्ष गरेमा सफलता पाउन सकिन्छ भन्ने कोबोल्डको एकमात्र चाहना नेपाल आमालाई हँसाउने छ । प्रकृतिसँग लुटुपुटु हुन्छन् उनी । नेपालको विकासमा थोरै भए पनि योगदान दिन चाहन्छन् कोबोल्ड । आफ्नो लागि मात्र सोचेर परिवर्तन सम्भव नरहेको बताउने कोबोल्ड भन्छन्, ‘सबै असम्भवलाई सम्भव बनाउन सकिन्छ । त्यसका लागि मात्र संघर्ष र इमान्दारिताको आवश्यकता पर्छ ।’

प्रस्तुति: एनोश कार्की

No comments:

Post a Comment